बालिका याङ्जी थोकरलाई 'कार्तिकेय बालप्रतिभा पुरस्कार, २०७५' प्रदान गरिने

yangji-thokar-075

आफ्नो मातृभाषा (तामाङ भाषा) मा निवन्ध संग्रह रचना गर्ने बालिका याङ्जी थोकरलाई 'कार्तिकेय बालप्रतिभा पुरस्कार, २०७५' प्रदान गरिने भएको छ । उनको 'चिडियाखाना कोर्निमा' (चिडियाखाना घुम्न जाँदा) नामक बालनिबन्ध संग्रह तामाङ भाषामा प्रकाशित भएको छ । आफ्नो मातृ भाषामा बालसाहित्य सिर्जना गर्ने यी बालिकालाई प्रोत्साहनस्वरुप यो पुरस्कार प्रदान गरिएको कार्तिकेय ट्रस्टले जनाएको छ । उनलाई पुरस्कार स्वरुप नगद रु ५ हजार प्रदान गरिने भएको छ । वासु मावि, भक्तपुरमा कक्षा १० मा अध्ययनरत यिनी बालसाहित्यका किताबहरु खुबै पढ्छिन् । यिनलाई मन परेको पुस्तक साहित्यकार रामेश लिखित 'मैले बिर्सन नसकेको साथी' नामक कृति हो । याङ्जी साहित्यकार ईश्वर थोकरकी बहिनी हुन् । यिनले भेटका क्रममा आफूले कार्तिकेय लिखित बालकथाहरु थुप्रै पढेको बताइन् । यिनी भन्छिन्, मलाई कार्तिकेय लिखित ‘म चोर होईन’ कथा खुबै मनपर्यो ।

कार्तिकेय लिखित रंगीन बालचित्रकथा पुस्तकहरु फुच्ची नानी सूर्य भेट्न गइन्, नयन हरायो, आमा, पपी छुट्यो, वाहा! दुनोट पसलेकी छोरी, साँच्चैको हिरो हो कृष्णबहादुर, डस्टर उड्यो, ड्राइभर अंकल किन रोए ?, मनको मन्दिर, हनुमानले सूर्य निले आदि कथा उनले पढ्न भ्याइसकेकी रहिछन् । उनको पढ्ने जागर देखेर ट्रस्ट परिवार प्रसन्न भएको छ । हामी उनको सिर्जनशील भविष्यको कामना गर्दछौँ । कार्तिकेय ट्रस्टले विगत १८ वर्षदेखि बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको छ । यस ट्रस्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षसेवी मोहन कार्की हुनुहुन्छ । यो पुरस्कार कार्तिकेय लिखित पुस्तकहरुबाट प्राप्त रोयल्टी रकमबाट वितरण हुँदै आएको छ । कार्तिकेयका लेखन, सम्पादन र अनुवाद गरी १ सय बढी कृतिहरु प्रकाशित छन् ।

Segment: 
Language: