किन मनाइन्छ गुरुपूर्णिमा ? Information about Teacher's day

bidhya-ghimire-075

by – विद्याप्रसाद घिमिरे


ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय ।

उपनिषदबाट साभार गरिएको उक्त मन्त्रका आशय “हे गुरु ! मलाई असत्यबाट सत्यतर्फ लैजाऊ, अज्ञानताको अँध्यारो हटाएर ज्ञान र चेतनाको उज्यालो मार्ग देखाऊ र मलाई मृत्युको भयबाट निकाली अमृत अर्थात मृत्यु नहुने संसारतर्फ लैजाऊ ।” भन्ने   हो ।
    आज आषाढ शुक्ल पूर्णिमा । आषाढ ११ गते । यही दिन महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनाम आदिका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म भएको थियो । वेदव्यासको जन्म भएको यस दिनलाई हिन्दूहरूले गुरु पूर्णिमा (टिचर्स डे) को रूपमा मनाउँछन् । आजको दिन ज्ञानको प्रतीकको रूपमा गुरुलाई पूजा गरिन्छ । आफ्ना शिष्यलाई अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतर्फ लैजानुहुने गुरुलाई आजका दिन विद्यार्थीले फूलमाला अर्पण गरी गुरुबाट आशीर्वाद थाप्ने चलन छ । संस्कृत भाषामा ‘गु’ भनेको अन्धकार हो र ‘रु’ को अर्थ नष्ट गर्ने हो । आफ्नो शिष्यमा रहेको अज्ञानरूपी अन्धकार हटाई ज्ञानको उज्यालो देखाउने गुरु अवश्य पनि स्तुत्य हुन्छन् ।


“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”

गुरुलाई हिन्दूहरूले ब्रह्मा, विष्णु र महेश्वरका साक्षत स्वरूप मान्छन् । हिन्दू मान्यतामा सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र, वेदमन्त्र दिने आचार्य, उमेर, बुद्धि र अनुभवले पाका व्यक्तिलाई पनि हिन्दूहरूले गुरु नै मान्दछन् । यस्ता मान्यजनहरूमा सर्वप्रथम पितामाता, हजुरबुवा, मावलीतर्फका हजुरबुवा, ब्राह्मण, मामा, ससुरा र काका आदि पर्छन् । वैदिककालमा सुरुको २५ वर्षसम्म ब्रह्मचर्याको पालन गरेर गुरुकुलमा गई विद्या आर्जन गर्ने चलन थियो ।
द्वापरयुगको अन्त्य हुनुभन्दा केही अघि उत्तरायण नक्षत्र पूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाको पुत्ररत्नको रूपमा व्यासको जन्म भएको थियो । चारै वेद, अठार पुराण, भागवत गीताको सम्पादन कार्यसमेत आजकै दिन सम्पन्न गरी व्यासले आफ्ना शिष्यका लागि सार्वजनिक गरेको हुँदा आजका दिनलाई ज्ञान दिवसको रूपमा मनाउने परम्परा सुरु भएको मानिन्छ । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदादि ज्ञान दिएकाले व्यासलाई सर्वश्रेष्ठ र प्रथम गुरु मानेर आजका दिनमा आफूलाई शिक्षा दिने गुरुलाई व्याससमान सम्मान दिई श्रद्धा व्यक्त गर्ने चलन छ ।
    त्रेतायुगमा रामसहित उनका भाइहरूले गुरुकुलमा अध्ययन गरेको रामायणले बताएको छ । त्यस्तै द्वापरयुगमा भगवान् कृष्णले पनि गुरुकुलमा अध्ययन गरेको प्रसङ्ग छ । साथै सिद्धार्थ गौतमले बुद्ध पूणिमाको दिन बुद्धत्व प्राप्त गरेपछि आजैका दिन आफ्ना शिष्यहरूलाई ज्ञानको पहिलो उपदेश दिनुभएको बताइन्छ । यस दिनलाई बौद्धहरूले धर्मचक्रप्रवर्तन दिवसका रूपमा मनाउँदै आएका छन् । त्यसैले हिन्दू र बौद्धहरूले आजको दिनलाई ज्ञानको बाटो देखाउने गुरुप्रति आभार र श्रद्धा व्यक्त गर्ने विशेष दिनका रूपमा मनाउने गरेको पाइन्छ ।

Opinion: 
Language: