चिडीमार जातिको कथा संकलनका लागि लेखकहरु नेपालगन्ज पुग्नुभयो

chidimar-news
बाँके, नेपालगन्ज
नेपालको लोपोन्मुख जाति चिडीमार जाति माझमा रहेको बाललोककथा संकलनका लागि वरिष्ठ बालसाहित्य लेखकहरुको एउटा टोली नेपालगन्ज पुगेको थियो । आदरणीय डा. चूडामणि बन्धुको नेतृत्वको उक्त टोलीमा नेपाल बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, महासचिव डा. ध्रुव घिमिरे, समाजका पूर्व अध्यक्ष तेजप्रकाश श्रेष्ठ र पूर्व कोषाध्यक्ष कार्तिकेय सहभागी रहनुभएको थियो । टोलीले नेपालगन्जस्थित बेलासपुरमा रहेको चिडीमार समुदायमाझमा पुगी स्थानीय बालबालिकामाझमा कथावाचन गरेको थियो । साथै समुदायका बृद्घबृद्घाहरुलाई आफूले सुनेका आफ्नो जातिको लोककथा भन्न प्रेरित गरेको थियो । साथै उक्त अवसरमा सहभागी बालबालिकाहरुले आफ्ना हजुरबा हजुरआमाले सुनाउनुभएको कथा सुनेर टिपोट गरी लेखेर वाचन गरेर पनि सुनाएका थिए ।
नेपाल बालसाहित्य समाजको' मेरो गाउँको कथा कार्यक्रमअन्तर्गत गाउँ पुगेको टोलीले चिडीमार बालबलिका र हजुरबा, हजुरआमा को सहयोगमा चिडीमार जातिको १५ वटा बालोपयोगी लोककथा संकलन र सम्पादन गरी कथाकृति प्रकाशित गर्ने लक्ष्य लिएकोे छ । साथै कार्यक्रमका अवसरमा चिडीमार बालबालिका अध्ययनरत सरस्वती मावि र वागेश्वरी प्रा.वि. मा टोलीले रमाइलो कथावाचनको कार्यक्रम सम्पन्न गरेको थियो । वागेश्वरी स्कुलका कक्षा ४ र ५ मा अध्ययनरत बालबालिका सहभागी कार्यक्रममा अग्रज लेखकहरुले कथावाचन गरी सुनाउनु भएको थियो भने सोही विद्यालयकी शिक्षिका ललिता शर्माले रोचक बालगीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । शिक्षिका शर्मा र काठमाडौंबाट जानुभएका लेखकहरुको प्रस्तुतिमा बालबालिकाहरु निक्कै रमाएका थिए ।
भ्रमणका क्रममा वरिष्ठ कथाकार सनत रेग्मी, मदन पुरस्कार विजेता आख्यानकार महेशविक्रम शाह, साहित्यकारहरु सृजन लम्साल र ऋचा लुइँटेलसँग पनि साहित्यिक भेटघाट र छलफल भएको थियो ।
चीडिमार समुदाय माझमा गई कार्यक्रम सम्पन्न गर्न वागेश्वरी क्याम्पसका नेपाली शिक्षक बालकृष्ण रेग्मी र चीडिमार समुदायका अगुवा रामु चीडिमारले सहयोग गर्नुभएको थियो ।
Segment: 
Language: