पूर्वी नेपालका दृश्यविहीन बालबालिकालाई ब्रेल पुस्तक वितरण र कथा वाचन तथा लेखन कार्यक्रम सम्पन्न

clfn-with-visually-impaired-children

पूर्वी नेपालका विभिन्न जिल्लाका दृश्यविहीन बालबालिकाका लागि ब्रेल पुस्तक वितरण र कथावाचन तथा लेखन कार्यक्रम सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा किशोरकिशोरीहरुका लागि पुस्तकसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईबीबीवाईको सहयोगमा सो कार्यक्रम चैत्र १० देखि १४ सम्म भएको थियो । दृश्यविहीन संगीतकार रमेश सुवेदी, बालसाहित्य लेखकहरु गंगा कर्माचार्य पौडेल, अमर कुमार प्रधान, बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय, नेपाल बालसाहित्य समाजका सचिव यशु श्रेष्ठ तथा सीएलएफएन भक्तपुरका रश्मी खागीलगायतको टोलीले पूर्वी नेपालका मोरङ, झापा र सुनसरी जिल्लामा आयोजित कार्यक्रमहरुमा कथावाचन गरेको थियो ।  मोरङको कार्यक्रम जिल्ला नेत्रहीन सङ्घ मोरङका अध्यक्ष एवं नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य साबित्रा कोइरालाको सभापतित्वमा चैत्र १० गते सम्पन्न भएको थियो । बेलबारीमा आयोजित कार्यक्रममा कवि रेखा सुवेदीले अतिथिहरुलाई स्वागत गर्दै बालबालिकाहरुलाई प्रेरणा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बालसाहित्यकारहरुले कथा सुनाउँदै उनीहरुलाई कथा लेखनका लागि प्रोत्साहन दिनुभएको थियो । उनीहरुको सहयोगार्थ ब्रेल संस्करणको कथा सङ्ग्रह, कार्तिकेय घिमिरेका रमाइला कथाहरु, गंगा कर्माचार्य पौडेलका कृतिहरु तथा यशु श्रेष्ठको ब्रेलमा चित्र कसरी लेख्ने ? पुस्तकहरु उपहार दिइएको थियो । त्यसै गरी ती कथा पुस्तकहरुको अडियो संस्करण र रेडियो पनि वितरण गरिएको थियो । अडियोमा महेश कार्की क्षितिजको आवाज रहेको छ । कार्यक्रममा विद्यार्थीहरुले गीत, चुट्किला प्रस्तुत गरेका थिए ।
त्यस्तै झापाको दमकस्थित सरस्वती मा.वि. मा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र जिल्ला नेत्रहीन सङ्घ झापाका प्रतिनिधि शिक्षक लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दृष्टिविहिन बालबालिकाका लागि सहयोगी पुस्तकहरुको विषयमा विचार विमर्श गरिएको थियो । त्यस्तै दृष्टिविहिन विद्यार्थी मुना मन्जरीले गजल सुनाउनुभएको थियो । कार्यक्रममा दुवै विद्यालयलाई पुस्तक तथा अडियो वितरण गरिएको थियो ।
यसै सिलसिलामा टोलीले चैत्र १२ गते सुनसरीको धरानस्थित पूर्वान्चल ज्ञानचक्षु मा.वि.को अवलोकन भ्रमण गरेको थियो । जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको सो विद्यालयमा दृष्टिविहिन बालबालिकाका साथै बहुअपाङ्गता भएका दृष्टिविहिन बालबालिका (भीआईएमडी) लाई पनि अध्यापन गराउँदै आएको विद्यालयका निमित्त प्र.अ. सन्दिप प्रधानले जानकारी  दिनुभयो । विद्यालयमा आयोजित ब्रेल पुस्तक वितरण एवं कथा वाचन तथा लेखन कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाले स्वागत नृत्य पनि प्रस्तुत गरेका थिए । सोही क्रममा जिल्ला नेत्रहीन सङ्घ सुनसरीको कार्यालयमा ब्रेलपुस्तकको महत्व र आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

Segment: 
Language: